काठमाडौँ, । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलको राष्ट्रिय ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ ।
सुर्खेतबाट दैलेख हिजो (शनिवार) जाने क्रममा गाडी दुर्घटना परि सामान्य घाइते हुनु भएको उहाँको आज विहान राष्ट्रिय ट्रमा सेन्टरमा पुगि स्वास्थ्य परीक्षण गराइएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए । “उहाँको तिघ्रा, हातमा समान्य चोट लागेको छ । भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा छैन,” कार्यालय सचिव डा. अधिकारीले भने ।
महासचिव पोखरेल आजै सुर्खेतबाट काठमाडौँ आएका थिए ।
जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुङेश्वर गाउँपालिका वडा नं. १ चुप्रा नजिकै उहाँ चढेको भाडाको गाडी सडकमा पल्टेको थियो ।
गाडीमा एमाले महासचिव पोखरेल सहित केन्द्रीय सदस्य दिपा शर्मा कर्णाली प्रदेश कमिटी सचिव धु्रव शाही रहेका थिए । तर उनीहरुलाई चोट भने लागेन । गाडीमा रहेका भएका कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको हातमा चोट लागेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

