काठमाडौँ, । नेपाल लिट्रेचर फेस्टिवल २०२४ मा कानून विपरीत सूर्तिजन्य पदार्थ तथा मदिरा उत्पादक कम्पनीको मुख्य प्रायोजनमा राखिएको छ ।
फेस्टिवलमा जनस्वास्थ्यका लागि हानिकारक सूर्तिजन्य पदार्थ तथा मदिरा उत्पादक कम्पनी सूर्य चुरोट उत्पादन गर्ने सूर्य नेपाललाई मुख्य प्रायोजक र मदिरा उत्पादन गर्ने कम्पनी खुकुरी रमको कम्पनीलाई प्रायोजनको रुपमा रहेको छ ।
बुकवर्म फाउन्डेसनले यहि फागुन ३ देखि ७ गतेसम्म पोखरामा फेस्टिवल गर्न थालेको हो ।
सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने २०६८ को दफा १० मा विज्ञापन तथा प्रायोजन गर्न नपाइने भनेर स्पष्ट उल्लेख छ । तर फेस्टिवलको सूर्य नेपालले मुख्य प्रयोजन गरि लोगो प्रयोग गरि आफ्नो प्रचार गरेको छ । दफा १० मा भनिएको छ, ‘उत्पादक लगायत कसैले पनि पत्रपत्रिका तथा रेडियो, टेलिभिजन, एफएम, इन्टरनेट, ईमेल जस्ता विद्युतीय सञ्चार माध्यम,अन्तरक्रिया कार्यक्रम, होर्डिङ्ग बोर्ड, भित्तेलेखन, लोगो, सङ्केत, लेख, दृश्य, आवाज, चिन्ह, व्यक्ति वा अन्य कुनै पनि माध्यमबाट सूर्तिजन्य पदार्थको विज्ञापन वा प्रवर्धन गर्न वा कुनै कार्यक्रम, समाचार वा सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाउने छैन ।’

एक्सन नेपालले सूर्तिजन्य पदार्थ तथा मदिराले मानव स्वास्थ्यमा पु¥याइरहेको क्षतिका विषयमा जनचेतना फैलाउनुपर्नेमा उल्टो फेस्टिवलका नाममा सूर्तिजन्य पदार्थ उत्पादकहरुको प्रचारका लागि लोगोसहित कार्यक्रम गरिनु बिडम्बनापूर्ण भएको जनाएको छ ।
फेस्टिवलमा सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीश समेत रहेका कल्याण श्रेष्ठ पनि सहभागी हुने भन्दै प्रचार गरिएको छ । यो कार्यक्रमको प्रायोजक सुर्य नेपाल प्रालिले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ बिरुद्ध दायर गरेको मुद्दामा सूर्तीजन्य उद्योगको स्वास्थ्य भन्दा नेपाली जनताकोे स्वास्थ्य ठूलो हो भन्दै जनस्वास्थ्यका विषयमा संसारकै उत्कृष्ट फैसला गरेका सर्वाेच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई गुमराहमा राखी प्रचार गरिनु आफैंमा अनौठो विषय बनेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, सांसद सिके राउत, सांसद डा स्वर्णिम वाग्ले, सांसद सुमना श्रेष्ठ, पूर्व अर्थमन्त्रीहरू वर्षमान पुन, सुरेन्द्र पाण्डेसमेत उक्त विवादित कार्यक्रममा सहभागि हुने भन्दै प्रचार गरिएको छ ।
धूम्रपान तथा सूर्तिसेवनले नेपालमा हरेक वर्ष ३७ हजार पाँच सय व्यक्तिको अल्पआयुमै मृत्यु हुन्छ । जुन नेपालमा हुने कुल मृत्युको झण्डै १९.४% हो । सन् २०१९ मा स्वास्थ्य मन्त्रालयले गरेको सर्वेक्षण अनुसार हाल नेपालमा कुल जनसंख्याको झण्डै २९% मानिस धूम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्दछन् ।
सामाजिक उत्तरदायित्वमा समेत रोक
फेस्टिवलमा सामाजिक उत्तरदायित्वको नाममा कार्यक्रम गरेपनि रोक लगाएको छ ।
सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन नियमावलीको नियम २२ को उपनियम १ र २ मा भनिएको छ, ‘सरकारी वा गैह्रसरकारी वा नीजि क्षेत्रबाट संचालित शिक्षण संस्था, मदरसा, नाट्यशाला, धार्मिक प्रवचन, सत्संग, स्वास्थ्य संस्था आदिलाई आर्थिक, प्राबिधिक, भौतिक, संरचनागत तथा अन्य कुनै पनि प्रकारको सहयोग उत्पादक लगायतले प्रदान गर्न पाउनेछैन । कसैले पनि उत्पादक लगायतले प्रदान गर्ने आर्थिक, भौतिक र संरचनागत सहयोग ग्रहण गर्न पाउनेछैन र उत्पादक लगायतले पनि यस्तो सहयोग गर्न पाउने छैन ।’

 

 

 प्रकाशित :-  २०८० माघ २६, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय