काठमाडौँ, । समयमा उपचार गर्न सके क्यान्सर रोग निको हुने चिकित्सक बताउँछन् ।
क्यान्सर रोग लागेसंगै समयमा नै पहिचान गर्न सके सफल उपचार भएर विरामीलाई मृत्युको मुखबाट बचाउन सकिने उनीहरुले बताएका छन् ।
क्यान्सर रोग थाहा पाउने वित्तिकै उपचार भए जस्तो सुकै क्यान्सरलाई पनि निको पार्न सकिने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले बताए ।
“समयमा नै क्यान्सर रोग पहिचान गर्न सके निको बनाउन सकिन्छ,” उनले भने, “क्यान्सरका चार स्टेज रहेका छन् । शून्यदेखि तीन स्टेजसम्मको क्यान्सर केही हदसम्म निको पार्न सकिन्छ ।”
समयमा नै उपचार नगराउँदा क्यान्सर रोग फैलिएर मानिसहरुको मृत्यु हुने गरेको छ । नेपालमा बर्षेनी २५ हजार क्यान्सरका नयाँ विरामीको पहिचान हुने र १५ हजार जनाको क्यान्सरको कारणले मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ ।

क्यान्सर रोग लागेपछि डराउन नहुने चिकित्सकहरुले बताएका छन् ।
डा. शाहीका अनुसार फोक्सो सानो क्षेत्रमा मात्र क्यान्सर भयो बढेर कहि पनि गएको छैन भने त्यसलाई चरण शून्य, अलिकति क्यान्सर बढेर गयो भने चरण एक, फोक्सामा अलि धेरै क्यान्सर फैलिए भने चरण दुई, फोक्सोबाट काखीसम्म गएर गिर्खा आएको छ भने तेस्रो चरण र त्यहाँबाट अर्को अङग कलेजो, पेटमा गयो भने चरण चार भनिन्छ ।
क्यान्सर एक ठाउँबाट सरेर अर्को ठाउँमा गयो भने खतरनाक हुने उनको भनाई रहेको छ । उनले नसर्ने वेलासम्म क्यान्सरलाई उपचार गर्न सकिने बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. उज्जव चालिसेले क्यान्सर एक ठाउँबाट अर्को ठाउँमा फैलिएरपछि उपचार गर्न गार्‍हो हुने बताउँछन् ।
उनले क्यान्सरको प्रि क्यान्सरको अवस्थामा खासै लक्षण नहुने भएकोले मानिसले क्यान्सर रोग लागेको थाहा नपाउने बताए । “क्यान्सर रोगको शुरुको चरणमा शरिर नदुख्ने भएपछि थाहा पाइदैन । त्यसैले यसलाई झुक्काउने रोग पनि भनिन्छ” उनले भने, “शरिर नदुख्ने भएपछि विरामीले पनि आफूलाई केही नै नभएको अनुभव गर्दछन । जव क्यान्सर फैलिन थाल्न अनि विरामीले थाहा पाउँछन ।”
उनका अनुसार पहिलो चरणमा विरामीले क्यान्सर रोग थाहा पाएको खण्डमा उपचार गरे ९० प्रतिशत निको, दोस्रो चरणमा ७० प्रतिशत र तेस्रो चरणमा प्रवेश गरेको क्यान्सरको उपचार गरे ५० प्रतिशत निको हुने सम्भवना रहन्छ ।
उनले जति छोटो रोग पत्ता लगाउन सके त्यति नै चाँडै उपचार गरेर रोग निको हुने बताउँछन् । क्यान्सर मानिसको हरेक अङ्गमा हुन सक्दछ ।
पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. शाहीले विश्वसंगै नेपालमा पनि क्यान्सर रोग बढदै गइरहेकोले बताए । उनले पहिला पहिला क्यान्सर रोग दश रोगभन्दा एक रोगमा पर्दैनथ्यो तर अहिले क्यान्सर रोग संसारको मुटुको रोगपछि दोस्रो नम्बरमा पर्ने गरेको छ ।
नेपालमा सवभन्दा बढी फोक्सो र त्यसपछि महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रहेको छ । त्यसपछि स्तन क्यान्सर, पेटको क्यान्सर र चौथो नम्बरमा ठूलो आन्द्राको क्यान्सर र पाँच नम्बरमा रगतको क्यान्सर पर्ने गर्दछन ।
नेपालमा सवभन्दा बढी फोक्सोको क्यान्सरको कारणले मृत्यु हुने गरेको छ ।
क्यान्सर के कारण हुनसक्छ
क्यान्सर ठ्याक्कै यहि कारणले गर्दा हुने भन्ने नभएको उहाँको भनाई रहेको छ । अत्यधिक मद्यमान र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकिरणको प्रभाव, जीवाणुको कारण, वंशाणुगत कारण जस्ता मुख्य कारणले क्यान्सर रोग नित्याउँछ ।
“भातदाल तरकारी अचार नखाएर हामी बढी जसो फास्टफुड, जङ्कफुड, धुम्रपान, मध्यपान, पोलेको, व्यायाम नगर्दा, सडेगलेका तथा वासी खानेकुरा खाँदा हामीलाई धेरै नै क्यान्सर हुन्छ,” उनले भने,“पहिला पहिला खाना नपाएर बच्चाहरु दुब्लाउने गर्दथ्ये र अहिले मोटोपनले गर्दा क्यान्सर हुने दोस्रो कारक रहेको छ ।”
उनले खानपिन, आराम, व्यायाम, धुम्रपान, मध्यपान र मोटोपनलाई रोक्न सके क्यान्सरलाई कम गर्ने सक्ने बताए ।
शरीरको कोष तथा कोषिकाको समूहको अस्वाभिक बृद्धि नै क्यानसर रोग हो । यसलाई एक प्रकारको गिर्खा वा ट्युमर पनि भनिन्छ ।

भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. चालिसेका अनुसार शरिरमा रहेका कोषको जन्म, विकास निर्माण, मृत्यु गर्र्ने सम्मको प्रक्रियालाई नियन्त्रण गर्ने जीन रहेका हुन्छ, त्यहि जीनमा खरावी उत्पन्न भएपछि कोषको अनियन्त्रित बृद्धि हुँदै जाने र अन्त्यमा मानिसमा क्यान्सर रोग लाग्ने गर्दछ । उनले जीनमा खरावी उत्पन्न गराउने कारकमध्ये सुर्तीजन्य पदार्थको सेवन, मादक पदार्थ सेवन, अखाद्य तत्व प्रमुख रहेको बताउँछन् ।
क्यान्सरको रोगथामका उपाय
क्यान्सर रोगको रोकथाम गर्नका लागि धुम्रपान मद्यपान, तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, सन्तुलित र स्वस्थ भोजन खाने, शारीरिक व्यायाम नियमित गर्ने, महिलाले आफ्नो स्तन र पाठेघरको मुखको नियमित परीक्षण गराउने गर्नुपर्दछ ।
भोलि विश्व सहित नेपालमा पनि ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔं स्याहारको’ भन्ने नारा सहित विश्व क्यान्सर दिवस मनाइदै छ ।

 प्रकाशित :-  २०८० माघ २०, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय