काठमाडौं, २० चैत । नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ २०८२ चैत १९ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको विशेष उपस्थितिमा भएको उक्त बैठकमा नेपाल औषधि लिमिटेड, सिंहदरबार वैद्यखाना विकास समिति र औषधि व्यवस्था विभागका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकको मुख्य एजेन्डा स्वदेशी उत्पादनलाई प्राथमिकता दिई वैदेशिक परनिर्भरता घटाउनु रहेको थियो।
बैठकमा सरकारले आधारभूत स्वास्थ्य सेवा अन्तर्गत नागरिकलाई निःशुल्क वितरण गर्दै आएका औषधिहरू अब नेपालमै उत्पादन गर्ने सम्भाव्यताबारे विस्तृत प्राविधिक छलफल गरिएको थियो। सरकारी स्वामित्वका औषधि उत्पादन गर्ने संस्थाहरूको क्षमता विस्तार गरी अत्यावश्यक औषधिहरूको अभाव हुन नदिने विषयमा मन्त्री मेहताले विशेष चासो व्यक्त गर्नुभएको थियो। यस पहलले राज्यको खर्च बचत हुनुका साथै आम नागरिकले समयमै औषधि पाउने सुनिश्चितता गर्ने विश्वास लिइएको छ।
छलफलका क्रममा औषधिको परिमाणसँगै यसको गुणस्तरमा समेत कुनै सम्झौता नगर्ने विषयमा सहमति भएको छ। औषधि व्यवस्था विभागलाई स्वदेशी उत्पादनको गुणस्तर मापन र नियमनमा अझ सक्रिय हुन निर्देशन दिइएको छ। नेपालमा उत्पादित औषधिहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका हुनुपर्ने र यसका लागि आवश्यक पर्ने आधुनिक प्रविधि र पूर्वाधार विकासमा सरकारले सहयोग गर्ने प्रतिबद्धता बैठकमा व्यक्त गरिएको थियो।
मन्त्री निशा मेहताले स्वास्थ्य सेवामा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्नु नै आजको मुख्य आवश्यकता रहेको बताउनुभयो। उहाँले नेपाल औषधि लिमिटेड र सिंहदरबार वैद्यखाना जस्ता गौरवशाली संस्थाहरूलाई पुनर्जीवन दिँदै आयुर्वेदिक र एलोपेथिक दुवै विधाका औषधि उत्पादनमा तीव्रता दिनुपर्नेमा जोड दिनुभयो। मन्त्री मेहताका अनुसार यो अभियानले देशको अर्थतन्त्रमा टेवा पुर्याउनुका साथै रोजगारीका अवसरहरू समेत सिर्जना गर्नेछ।

