संखुवासभा । संखुवासभाको चैनपुरमा पहिलोपटक गाईको सल्यकृया सफल भएको छ । चैनपुर नगरपालिका १० खराङमा पहिलोपटक गाईको सिजेरियन शल्यक्रिया (सी.एस) सफलतापुर्वक सम्पन्न भएको हो ।
स्थानीय किसान खड्गलाल तिम्सिनाको गाईले १२ दिन ढिलाइसम्म बाछो जन्माउन नसकेपछि पशु चिकित्सक डा. प्रभाकर कट्टेल नेतृत्वको प्राविधिक टोलीले किसानकै गोठलाई अस्थायी शल्यकक्ष बनाएर अपरेसनमार्फत सुरक्षित रूपमा सुत्केरी गराएको पालिकाका सूचना अधिकारी सुसील खड्काले जानकारी दिनुभयो ।
चैनपुरमा पहिलोपटक भएको गाईको सफल शल्यक्रियाले ग्रामीण क्षेत्रमा पशु उपचार सेवामा नयाँ आशा जगाएको छ। यस उपलब्धिले किसानलाई चौपाया गुमाउने जोखिमबाट जोगाउने मात्र नभई नगरपालिकाप्रतिको विश्वास पनि बढाएको छ। अब गाउँमै गुणस्तरीय पशु उपचार सम्भव भएकोले पशुधन संरक्षण र कृषकको जीवनयापनमा सकारात्मक प्रभाव पर्न जाने देखिन्छ।
शल्यक्रियापछि गाई सामान्य अवस्थामा फर्किसकेको र घाँसपानी खान थालेको पशु सेवा शाखाका नायव प्राविधिक प्रकाश ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार चैनपुरको इतिहासमै गाईको पहिलो सफल सल्यकृया भएकाले यसले किसानमा ठूलो उत्साह जगाएको छ ।
नेपाल सरकारको एक पालिका, एक पशु चिकित्सक कार्यक्रम अन्तर्गत ग्रामीण क्षेत्रमा गुणस्तरीय पशु उपचार सेवा कार्यक्रम अगाडी बढाएको छ ।
यसअघि सुत्केरी हुन नसक्दा किसानलाई चौपाय गुमाउनु पर्ने बाध्यता थियो। तर, अब यस्तो सेवा गाउँघरमै उपलब्ध भएपछि पशुधनको सुरक्षा, किसानको भरोसा र नगरपालिकाको सेवा क्षमतामा नयाँ विश्वास थपिएको स्थानीयवासीले बताएका छन् ।




